काठमाडौँ।
लगातारको वर्षाका कारण जोमसोम-मुक्तिनाथ-कोरला सडकखण्ड बिहीबार भाँसिएपछि मुक्तिनाथ दर्शनका लागि हिँडेका सयौँ भक्तजन जोमसोममै रोकिएका छन्। जोमसोम-पान्डाखोलाबीच करिब २५ मिटर सडक भासिएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालका अनुसार, मुक्तिनाथतर्फ जाने सवारीसाधनलाई जोमसोमबाट अघि बढ्न रोक लगाइएको छ। "राष्ट्रिय गौरवको बेनी-जोमसोम खण्ड सहज भए पनि जोमसोममाथिको सडक भासिएपछि धेरै टाढाबाट आएका भक्तजनको यात्रा रोकिएको छ," प्रजिअ भुसालले बताए।
सडक अवरुद्ध भएपछि मुक्तिनाथबाट फर्कने क्रममा अलपत्र परेका केही सवारीसाधनलाई सुरक्षा निकायको समन्वयमा जोमसोम झार्ने काम भइरहेको छ। तर, निरन्तर वर्षा भइरहेकाले तत्काल सडक सञ्चालनमा ल्याउन नसकिने प्रशासनले स्पष्ट पारेको छ। आवश्यक ड्रेन निर्माण नहुँदा सडक संरचनामा क्षति पुगेको उनको भनाइ छ।
सडक बन्द भएपछि धेरैजसो पर्यटक जोमसोमबाटै फर्किएका छन् भने केही सडक खुल्ने पर्खाइमा जोमसोममै बसेका छन्। जिल्ला प्रशासन कार्यालयले जोमसोम-कागबेनी र कागबेनी-छुसाङ खण्डका विभिन्न स्थानमा पनि बाढीपहिरोले क्षति पुगेकाले मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरेको छ।