काठमाडौँ।
गृह मन्त्रलयले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा सार्वजनिक तथा निजी क्षेत्रमा भएको हानि नोक्सानीबारे छलफल गर्न जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएको छ।
मन्त्रालयको आजको सचिवस्तरीय निर्णयानुसार, आन्दोलनका क्रममा भएको सम्पत्तिको हानि नोक्सानीका सम्बन्धमा अनुकूल व्यावसायिक वातावरण तयार गर्नका लागि यो निर्देशन दिइएको हो। जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको उपस्थितिमा जिल्लास्थित उद्योग वाणिज्य सङ्घलगायत व्यवसायीहरूको सहभागितामा बैठक राखी आवश्यक समन्वय गर्न मन्त्रालयले अनुरोध गरेको छ।
गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, "गत भदौ २३ र २४ गते जेनजी पुस्ताको अगुवाइमा भएको प्रदर्शनका क्रममा ठूलो जनधनको क्षति भएको विदितै छ। जिल्ला सुरक्षा समितिका पदाधिकारीसमेतको उपस्थितिमा जिल्लास्थित उद्योग वाणिज्य सङ्घलगायत व्यवसायीको सहभागितामा बैठक राखी आवश्यक समन्वय गर्नरगराउनु अनुरोध छ।" यस छलफलले क्षतिको आकलन र भावी रणनीति तय गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
