काठमाडौँ । देशका केही स्थानमा यो साता भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
वर्षा हुन भोलि (कात्तिक ११)देखि नै सुरु हुने त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम
विज्ञान विषयका सहप्राध्यापक डा. विनोद पोखरेलले उल्लेख गरेका छन् ।
आउँदो
बिहीबारदेखि शनिबारसम्म देशको पूर्वी भूभागमा भारी वर्षा हुने सम्भावना उनले औँल्याएका
छन् । “भोलिदेखि पश्चिमी नेपालमा वर्षा हुने र बिहीबारदेखि शनिबारसम्म देशको पूर्वी
भागमा भारी वर्षा हुने सम्भावना रहेको पूर्वानुमान गरिएको छ,” उनले सोमबार (कात्तिक
१०) दिउँसो फेसबुकमा लेखेका छन् ।
बंगालको
खाडीमा रहेको मोन्था चक्रवात र अरबसागरको न्यूनचापीय प्रणालीले यति बेला नेपालभरि बादल
ल्याइरहेको उनले जानकारी दिए । “तर, अहिलेसम्म वर्षा भएको छैन,” भनेका छन् ।
जलवायुविज्ञ
डा. धर्मराज उप्रेतीले पनि आउँदो शुक्रबार र शनिबार बागमती प्रदेश, मधेसा र कोशी प्रदेशप्रदेशका
धेरै ठाउँमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएका छन् ।
सुझावका
रूपमा उनले फेसबुकमा लेखेका छन्, “१. धान भित्र्याउन, पराल आदिको सुरक्षामा विशेष ध्यान
दिनुपर्ने २. १४–१५ कार्तिकमा काठमाडौंलगायत पूर्वी नेपालको हवाई तथा स्थलमार्ग प्रभावित
हुनसक्छ ।”
पर्यावरण
तथा मौसमविद् उज्ज्वल उपाध्यायले पनि आउँदो बिहीबारदेखि देशको पूर्वी भूभागमा मध्यमदेखि
भारी वर्षाको सम्भावना औँल्याएका छन् ।
“इलाममा
पुनः विशेष सतर्कताको आवश्यकता देखियो । धान काट्ने र भित्र्याउने कार्य मंगलबारदेखि
स्थगित गरौँ,” उनले फेसबुकमा लेखेका छन्, “तराईका जिल्लाहरूमा धान जोगाउने उपायतर्फ
लागौँ – खासगरी पूर्वमा झापादेखि पश्चिममा पर्सासम्म ।”
यी तीनै
मौसमविद्ले पश्चिम नेपालमा भने हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना रहेको जनाएका
छन् । उच्चपहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना औँल्याइएको छ ।
“उच्चपहाडी
र हिमाली भेगमा भारी हिमपातको सम्भावना देखिन्छ,” मौसमविद् उपाध्यायले भनेका छन्,
“अपी–नम्पा, अन्नपूर्ण, मनास्लु लाङटाङतर्फ पदयात्रा मंगलबारदेखि बिहिबारसम्म स्थगन
गर्नुहोला ।”
देशको
मौसमको निगरानी गर्ने आधिकारिक निकाय जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान
महाशाखाले सोमबारै विशेष बुलेटिन जारी गरेको छ । महाशाखाले पश्चिम नेपालका केही स्थानमा
सोमबार रातिदेखि बुधबार बिहानसम्म वर्षा र हिमपातको पूर्वानुमान गरेको छ ।