काठमाडौँ।
तारकेश्वर नगरपालिका–९, मचागाःस्थित अतिक्रमित सार्वजनिक जग्गामा आज औपचारिक रूपमा सार्वजनिक जग्गा संरक्षणको बोर्ड स्थापना गरिएको छ। वडाअध्यक्ष श्यामकृष्ण महर्जनले स्वयं खाल्डो खनेर उक्त बोर्ड जडान गरेका हुन्।
कार्यक्रममा बोल्दै वडाअध्यक्ष महर्जनले भने, “सार्वजनिक सम्पत्ति सबैको साझा धरोहर हो। अन्य स्थानहरूमा पनि यस्तै संरक्षणका कार्य सुरु गर्ने योजना छ, तर त्यसका लागि स्थानीयबासीको सहकार्य आवश्यक छ।”
मचागाः क्षेत्रका स्थानीयहरू विगत लामो समयदेखि यो सरकारी जग्गा संरक्षणको माग गर्दै आएका थिए। नवीन नगरका बासिन्दाहरूले यो विषयमा संसददेखि राष्ट्रिय मिडियासम्म आवाज उठाएका थिए। केही महिनाअघि काठमाडौं क्षेत्र नं. ६ का संघीय सांसद शिशिर खनालले संसदमा प्रश्न उठाएपछि तारकेश्वर नगरपालिकाले सामाजिक सञ्जालमार्फत संरक्षण गर्ने घोषणा गरेको थियो।
सुरुदेखि नै यस विषयमा राष्ट्रिय आर्थिक दैनिकले निरन्तर समाचार सम्प्रेषण गर्दै आएको थियो। नगरपालिकाले समयमै पहल नगर्दा स्थानीयहरू असन्तुष्ट थिए। अन्ततः वडाअध्यक्ष महर्जनले स्वयम् अग्रसर भएर बोर्ड राखेपछि स्थानीयले स्वागत गरेका छन्।

मालपोत कार्यालय मनमैजुका अनुसार, मचागाःस्थित कित्ता नं. ६२ र ६३ गरी करिब ९ आना सरकारी जग्गा रहेको छ, जसमा लामो समयदेखि अतिक्रमण भएको थियो।
स्थानीय भूपाल गौतमले भने, “हाम्रो लामो प्रयास सफल भएको छ। यो अभियान सफल बनाउन लागिपर्नु भएका सामाजिक अभियन्ता सुशान्त न्यौपाने, सांसद शिशिर खनाल र वडाअध्यक्ष श्यामकृष्ण महर्जनप्रति हामी टोलबासीको तर्फबाट हार्दिक आभार व्यक्त गर्दछौं।”