काठमाडौँ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)की केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले अध्यक्ष खड्गप्रसाद शर्मा ओलीलाई राजीनामा दिएर पार्टी जोगाउन आग्रह गरेकी छिन्। ललितपुरमा जारी नेकपा एमालेको १०औं केन्द्रीय कमिटी बैठकको तेस्रो दिन शुक्रबार दशबुँदे सुझाव र प्रश्न प्रस्तुत गर्दै उनले 'जेनजी आन्दोलन'को एउटा मुख्य माग पार्टीहरूको पुनर्गठन पनि भएकाले एमालेमा नेतृत्व हस्तान्तरण हुनुपर्ने माग गरेकी हुन्।
कमिटी बैठकमा तिम्सिनाले ओलीकै नेतृत्वमा पार्टीलाई अगाडि बढाइए थप क्षति व्यहोर्नुपर्ने भन्दै सचेत गराइन्। जनतामा पार्टी नेतृत्वप्रति खराब छवि स्थापित भइरहेको बेला सम्मानपूर्वक राजीनामा दिएर सकारात्मक सन्देश दिन तिम्सिनाले आग्रह गरिन्।
उनले भनिन्, "यो जेनजी आन्दोलनको एउटा जबरजस्त माग पार्टीका टेस्टेड नेतृत्व र पुस्ताले बिदा लेऊ भन्ने नै हो, त्यसलाई अनदेखा गर्न अब सकिन्न। यही संरचना लिएर चुनाव वा आन्दोलनमा जानै सकिँदैन कमरेड, यहाँले बिदा लिएर अभिभावक बन्नेबित्तिकै देशभर सकारात्मक सन्देश जानेछ।"