काठमाडौँ।
गाजामा हमासको नियन्त्रणमा रहेका नेपाली नागरिक बिपिन जोशी जीवित रहेको पुष्टि भएको छ। यसअघि उनको अवस्था अज्ञात रहेको समाचारहरू आए पनि टाइम्स अफ इजरायल, एपी लगायतका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जारी गरेको २२ जना जीवित बन्धकको सूचीमा जोशीको नाम समावेश भएको पुष्टि गरेका हुन्।
अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गर्दा जोशीसहित १७ जना नेपाली विद्यार्थीहरू प्रभावित भएका थिए। त्यस क्रममा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने एक जनाको अवस्था अज्ञात भनिएको थियो।
गाजामा रहेका कुल २५१ अपहरितमध्ये हाल ४८ जना अझै हमासको कब्जामा रहेको इजरायलले जनाएको छ। इजरायलले तीमध्ये २५ जनाको मृत्यु भएको दाबी गरे पनि जीवित ठानिएका २२ जनाको सूचीमा बिपिन जोशीको नाम आउनु नेपालीका लागि ठूलो राहत र आशाको खबर बनेको छ।
शुक्रबारदेखि सुरु भएको युद्धविरामसँगै सोमबारदेखि बन्धकहरू रिहा हुने अपेक्षा गरिएको छ। इजरायलले सो क्रममा दुई हजार प्यालेस्टिनी कैदी रिहा गर्ने तयारी गरेको छ। यससँगै बिपिन जोशीको पनि सकुशल रिहाइको आशा बढेको छ।