काठमाडौँ।
जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागार र सुधार गृहबाट भागेका कुल १४ हजार ५५३ कैदीबन्दीमध्ये झण्डै ५ हजार ७०० जना अझै फरार रहेका छन्। मुलुकभर प्रदर्शन चर्केपछि २८ वटा कारागारबाट १३ हजार ५८९ कैदी र नौ वटा बालसुधार गृहबाट ९६४ बाल बन्दी भागेका थिए।
कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार, आज अपराह्नसम्म आठ हजार ५१० कैदी र ३४१ बाल बन्दी गरी कूल आठ हजार ८५१ बन्दी कारागार फर्किएका छन्। तर, पाँच हजार ७९ कैदी र ६१८ बाल बन्दी गरी कूल पाँच हजार ६९७ बन्दी अझै फरार छन्।
गृह मन्त्रलयले यही असोज १० गते फरार कैदीबन्दीलाई सोमबारसम्म कारागार फर्कन 'अल्टिमेटम' दिएको थियो। ठूलो सङ्ख्यामा विभिन्न कसुरमा कैद सजाय भुक्तान गरिरहेका कैदी फरार हुँदा समाजमा सुरक्षा चुनौती थपिएपछि सरकारले फरार कैदीबन्दीलाई कारागारमा फर्काउन विशेष अभियान सञ्चालन गरिरहेको छ। यस अभियानअन्तर्गत सुरक्षाकर्मीले फरार कैदीलाई नियन्त्रणमा लिँदै सम्बन्धित कारागारमा बुझाइरहेका छन्।