काठमाडौँ।
बाढीपहिरोका कारण बागमती प्रदेश र कोशी प्रदेशका विभिन्न सडकखण्डहरू अझै अवरुद्ध रहेका छन्। नेपाल प्रहरीका अनुसार सङ्खुवासभाको कोशी राजमार्ग, ओखलढुङ्गा र उदयपुरको सिद्धिचरण राजमार्ग, धनकुटाको मध्यपहाडी र कोशी राजमार्ग, तथा इलामको मेची राजमार्ग पूर्णरुपमा बन्द छन्।
यसैगरी, रसुवाको पासाङल्हामु सडक, सिन्धुपाल्चोकको अरनिको राजमार्ग, काभ्रेको बीपी राजमार्ग, मकवानपुरको कान्ति लोकपथ र कुलेखानी–सिस्नेरी सडकखण्ड, तथा सिन्धुलीको बीपी राजमार्ग र मध्यपहाडी लोकमार्ग पनि पूर्ण रुपमा अवरुद्ध छन्।

सडक विभागले केही सडकमा अझै पहिरो र बाढीले समस्या भइरहेकाले यात्रा गर्नुअघि जानकारी लिन आग्रह गरेको छ। विभागका अनुसार पूर्वपश्चिम राजमार्गको पूर्वी खण्डमा अझै समस्या छ भने मेची राजमार्गको इलाम खण्डमा धेरै क्षति पुगेको छ। बीपी राजमार्ग बाढी रोकिएको सात दिनपछि मात्र सञ्चालन हुन सक्ने अवस्था रहेको विभागले जनाएको छ। गत वर्षको बाढीले क्षति पुर्याएका बीपी राजमार्गका करिब डेढ दर्जन 'डाइभर्सन' यस वर्ष भत्किएकाले बाढी सामान्य भएपछि मर्मत कार्य सुरु गरिनेछ।