काठमाडौँ।
अविरल वर्षाका कारण मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत तुइन खोला नजिकै पहिरो खसेपछि सडक एकतर्फी बनेको छ। शनिबार बिहानै खसेको पहिरोका कारण सवारी आवागमन प्रभावित भएको हो।
सडक डिभिजन भरतपुरका अनुसार, मुग्लिन–नारायणगढ सडकखण्डमा अहिले पनि पानी परिरहेको छ र पहिरोको जोखिम कायमै रहेको छ। "तुइन खोला पुल नजिकै पहिरो जाँदा सवारी आवागमन एकतर्फी सञ्चालनमा रहेको छ। पानी परिरहेको र यस खण्डमा पहिरोको जोखिम कायमै रहेको छ," सडक डिभिजनले जनाएको छ।
यसैबीच, मुग्लिन–नागढुंगा सडकखण्डको जवाङ खोला नजिकै खसेको पहिरो भने भर्खरै हटाइएको छ। शनिबार बिहान ५ः५५ बजे खसेको उक्त पहिरो पन्छाएपछि अहिले त्यहाँ सवारी आवागमन सञ्चालनमा रहेको सडक डिभिजन भरतपुरले जानकारी दिएको छ।
यात्रुहरूलाई सावधानी अपनाउन र वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।