काठमाडौँ।
काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले भदौ २४ गते सिंहदरवारमा लागेको आगो निभाउन सबभन्दा पहिले काठमाडौँ महानगरको दमकल पुगेको दाबी गरेका छन्। बुधबार दिउँसो आफ्नो आधिकारिक फेसबुक अकाउन्टमार्फत पाण्डेले यस्तो दाबी गरेका हुन्।
भदौ २३ देखि सुरु भएको जेनजी आन्दोलनको दोस्रो दिन, भदौ २४ गते प्रदर्शनकारीले सिंहदरबारमा तोडफोड र आगजनी गरेका थिए। जनस्तरमा काठमाडौँ महानगरदेखि नजिकैको देशकै प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारमा आगजनी हुँदा दमकल नपठाएको भन्दै मेयर बालेन्द्र शाह (बालेन) र महानगरको चर्को आलोचना भइरहेको थियो।
नगर प्रहरी प्रमुख पाण्डेले भने सिंहदरबारमा आगो निभाउन महानगरको दमकल सबभन्दा पहिले गएको कुरा विश्वास नलागे नेपाली सेनालाई सोध्न समेत आग्रह गरेका छन्। उनले लेखेका छन्, ‘सिंहदरबारमा आगो निभाउन सबभन्दा पहिला काठमाडौँ महानगरको दमकल पुगेको थियो। पत्यार नलागे नेपाली सेनासँग सोधे हुन्छ।’
जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवन शीतल निवास, बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवाससहित सरकारी भवन, व्यापारिक प्रतिष्ठान र निजी भवनमा तोडफोड गर्दै आगजनी गरेका थिए। राष्ट्रपति भवन रहेको शीतल निवास, सेनाको मुख्यालय जंगीअड्डा नजिकैको सिंहदरबार र सर्वोच्च अदालतको सुरक्षा गर्न नसकेको भन्दै नेपाली सेनाको समेत आलोचना भइरहेको छ।