काठमाडौँ।
जेनजी आन्दोलनका क्रममा सिंहदरवारलगायत सार्वजनिक निकायका भवनमा आगलागी हुँदा पनि काठमाडौँ महानगरपालिकाले वास्ता नगरेको भनी आलोचना भइरहेका बेला महानगरले उपत्यकाका ६० स्थानमा आगलागी नियन्त्रण गर्न दमकल परिचालन गरेको दाबी गर्दै समय-तालिकासहित सूची सार्वजनिक गरेको छ।
महानगरपालिकाको विपद् व्यवस्थापन विभागले महानगरपालिकासँग उपलब्ध ५ वटै दमकल परिचालन गरी आगलागीबाट थप क्षति हुन रोकेको दाबी गरेको छ। तर, जुलुस, सडक अवरोध र ढुंगामुढाका कारण दमकलहरू तत्काल घटनास्थल पुग्न नसकेको विभागले उल्लेख गरेको छ।
महानगरपालिका प्रहरी बलका वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले भने, "हामीले विभिन्न ठाउँमा, महानगर क्षेत्रभित्र मात्र होइन, बाहिर पनि आगलागी निभाउन प्रयत्न गरेका थियौँ। २४ गते बेलुकासम्म विभिन्न ठाउँमा भएको आगजनीमा दमकल पठाउन खोज्दा हाम्रो दमकल सेन्टर न्युरोड, बालाजु र रामिटी बहुवोटमा रहेको थियो। साँझदेखि नै प्रायोगिकबाट सर्वोच्च अदालत, सिंहदरबारलगायतका महत्त्वपूर्ण ठाउँहरूको आगजनी जोगाउन प्रयत्न गरेका थियौँ। तर तत्कालीन अवस्थामा जुलुस, आन्दोलनका कारण सडकमा आन्दोलन जारी भएकाले दमकल निस्कन सकेन।"
उनका अनुसार, न्युरोडबाट दमकल निस्कन खोज्दा त्यहाँ नै आगजनी भइरहेको थियो र दमकलको गेट अगाडि गाडीहरू जलिरहेका थिए। नेपाली सेनासँग समन्वय गरे पनि तत्काल सम्भव नभएको उनले बताए। "सचिवालयबाट पटक-पटक फोन आएर दमकल किन निस्किएन? किन पुगेन भनेर निर्देशन आयो। तर दमकल जान सक्ने अवस्थामा, सुरक्षित भएर जान सक्ने अवस्थामा हामीले ढिलाइ गरेका छैनौँ," पाण्डेले थपे।
बौद्धबाट दमकल निस्कन खोज्दा चाबेलमा दमकलमाथि ढुंगामुढा हुने प्रयास भएको र नेपाली सेनाको गाडीमा पनि ढुंगामुढा भएको उनले जानकारी दिए। "हामी रेडी अवस्थामै थियौँ। पहिलो ८:३० बजे सिंहदरबारमा दुईवटा दमकल लिएर ८:३० देखि ९:४५ सम्म निभाएको अवस्था छ। त्यसपछि १० बजे नेपाली सेनाले सुरक्षाको जिम्मा लिइसकेपछि समन्वय गरेर मात्र अगाडि बढ्ने प्रायोरिटीका साथ परिचालन गरेका थियौँ। रातभरि नै दमकलहरू खटिए, भोलिपल्ट पनि एउटै ठाउँमा दसौँचोटि गएर निभाएका छौँ," पाण्डेले भने।



महानगरपालिकाले पानीको अभाव पनि नहोस् भनेर विशेष व्यवस्था गरेको थियो। पाण्डेले भने, "आन्दोलनका कारण शहरमा व्यापक आगलागीको जोखिम थियो। हामीले सबै स्रोतसाधन परिचालन गरी क्षतिलाई न्यून राख्न सफल भयौं। यसमा फायर डिभिजनका कर्मचारीहरूको अथक प्रयास महत्वपूर्ण रह्यो। विभिन्न व्यक्तिहरू, कम्पनीहरूबाट बालाजु र स्वयम्भू क्षेत्रबाट व्यक्तिगत तथा महानगरको एप्रोचमा पानी ट्यांकरहरू अनुरोध गरेर सयौं ट्यांकर सहयोग लिएका थियौं। दमकलमा पानी सकिएपछि त्यहीँ फिलिङ गर्ने व्यवस्था पनि गरेका थियौं। महानगरपालिकाले दमकल परिचालन गरेन भन्ने कुरा गलत हो।"
उनले नेपाली सेनासँग पनि पटकपटक समन्वय भइरहेको र दमकल सुरक्षित रूपमा पठाइएको बताए। आन्दोलनपश्चात् महानगरपालिका सरसफाइमा जुटेको जनाइएको छ।