काठमाडौँ।
दसैँको चहलपहलसँगै काठमाडौँलगायतका सहरबाट घर फर्कने यात्रुहरूको चाप बढिरहेका बेला भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले सुरक्षित यात्राका लागि चालक र यात्रु दुवैलाई विशेष अनुरोध गरेका छन्। बुधबार बिहान सामाजिक सञ्जालमार्फत उनले चाडपर्वको यात्रालाई सुरक्षित र सुखद बनाउन महत्वपूर्ण सुझावहरू दिएका हुन्।
मन्त्री घिसिङले "तपाईंको जीवन र तपाईंको परिवार राष्ट्रको अमूल्य सम्पत्ति हो" भन्दै हतार नगरी, सजग भई र नियम पालना गरेर यात्रा गर्न आग्रह गरेका छन्।
चालकहरूलाई मन्त्री घिसिङका चार अनुरोध:
गति नियन्त्रणमा राख्नुहोस्: तीव्र गति दुर्घटनाको मुख्य कारण भएकाले सवारीको गतिलाई सधैँ नियन्त्रणमा राख्न उनले आग्रह गरेका छन्।
मदिरा सेवनपश्चात् सवारी नचलाउनुहोस्: मदिरा सेवन गरी सवारी चलाउनु आफू र अरूका लागि पनि जोखिमपूर्ण हुने भएकाले यस्तो कार्य नगर्न कडा निर्देशन दिएका छन्।
विश्राम लिएर मात्र लामो यात्रामा निस्कनुहोस्: लामो यात्रामा निस्कनुअघि पर्याप्त विश्राम लिन र थकान महसुस भएमा बीचमा पनि आराम गर्न उनले सुझाव दिएका छन्।
यात्रुलाई आफ्नो परिवारझैँ सम्झेर सुरक्षित गन्तव्यसम्म पुर्याउनुहोस्: यात्रुहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै उनीहरूलाई सुरक्षित गन्तव्यसम्म पुर्याउने जिम्मेवारी चालकको भएको उनले स्मरण गराएका छन्।
यात्रु दाजुभाइ तथा दिदीबहिनीहरूलाई मन्त्री घिसिङका चार अनुरोध:
क्षमताभन्दा बढी सवारीमा नचढौँ: क्षमताभन्दा बढी यात्रु बोकेका सवारीसाधनमा यात्रा नगर्न र आफ्नो जीवनलाई जोखिममा नपार्न उनले आग्रह गरेका छन्।
चालकलाई दबाब नदिई शान्त र सुरक्षित यात्रा गर्न प्रोत्साहन गरौँ: चालकलाई तीव्र गतिमा चलाउन वा नियम उल्लंघन गर्न दबाब नदिन र शान्त तथा सुरक्षित यात्राका लागि प्रोत्साहन गर्न उनले अनुरोध गरेका छन्।
यात्राको क्रममा आवश्यक सुरक्षा र सावधानी अपनाऔँ: यात्रा गर्दा सिट बेल्ट लगाउने, झ्यालबाट हात वा टाउको बाहिर ननिकाल्ने जस्ता सामान्य सुरक्षाका उपायहरू अपनाउन उनले सुझाव दिएका छन्।
सुरक्षित र खुसीसाथ गन्तव्यमा पुग्नु नै हाम्रो उद्देश्य हो: यस दसैँमा केवल गन्तव्यमा पुग्नु मात्र नभई सुरक्षित र खुसीसाथ पुग्नु पनि महत्वपूर्ण उद्देश्य भएको उनले बताएका छन्।
मन्त्री घिसिङले "सडक सुरक्षा नै जीवन सुरक्षा हो, जीवन सुरक्षा नै परिवारको खुसी हो र परिवारको खुसी नै हाम्रो राष्ट्रको शक्ति हो" भन्दै सबैलाई दसैँको हार्दिक शुभकामना व्यक्त गरेका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका साथै सहरी विकास र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पनि घिसिङले नै सम्हालिरहेका छन्।