काठमाडौँ।
जेन–जी आन्दोलनपछि उत्पन्न नयाँ परिस्थितिबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बसिरहेको छ। शहीदहरूको सम्झनामा मौनधारणबाट सुरु भएको बैठकमा समसामयिक राजनीति र आन्तरिक विषयमा छलफल भइरहेको छ।
सभापति रवि लामिछानेको कारागार रिहाइ प्रकरणले नेतृत्वमाथि प्रश्न उठेका बेला कम्तीमा चार प्रदेश सभापतिले उनले मार्ग प्रशस्त गर्नुपर्ने प्रस्ताव गर्ने तयारी गरेका छन्। कोशीका सरिन तामाङ, गण्डकीका राजन गौतम, लुम्बिनीका देवराज पाठक र सुदूरपश्चिमका प्रकाश विष्टले कानुनी निष्कर्ष नआउँदासम्म पद छोड्न वा संरक्षण भूमिकामा बस्नुपर्ने प्रस्ताव गर्ने बुझिएको छ।
यसैबीच, नख्खु कारागार प्रकरणबारे पार्टीभित्र आन्तरिक छानबिनको माग पनि उठेको छ। प्रवक्ता मनिष झा स्वयं विवादमा मुछिएका कारण यो विषय बैठकमा प्रमुख एजेन्डा बनेको छ। लामिछाने छानबिनप्रति सकारात्मक देखिए पनि केही नेता भने त्यसको विपक्षमा छन्।
बैठकमा पार्टी पुनर्गठनका लागि महाधिवेशन मिति अगाडि सार्ने वा तिहारपछि विस्तारित बैठक बोलाउनेबारे पनि छलफल भइरहेको छ। फागुन ७–९ मा तय भएको महाधिवेशन आगामी निर्वाचन मितिसँग जुध्ने भएकाले यसबारे वैकल्पिक व्यवस्था खोज्ने तयारी भइरहेको छ।