काठमाडौँ।
धादिङको बेनीघाट रोराङ्ग गाउँपालिका–१० जवाङ खोला (बाँदरे मोड) मा ठूलो सुक्खा पहिरो खसेका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। यसले गर्दा यात्रु र गाडी चालकहरू अलपत्र परेका छन्। पहिरो ठूलो भएकाले पन्छाउन समय लाग्ने देखिएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले यात्रु तथा चालकहरूलाई यो बाटोको सट्टामा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।
वैकल्पिक मार्गहरू:
साना तथा मझौला गाडीका लागि: धादिङको मलेखु (फुर्के खोला)–धादिङबेशी–आरुघाट–मध्यपहाडी राजमार्ग, गोरखा बजार हुँदै आँबुखैरेनी, मध्यपहाडी राजमार्ग हुँदै डुम्रे तथा अन्य उपयुक्त वैकल्पिक बाटो प्रयोग गर्न सकिनेछ।
ठूला तथा साना सबै गाडीका लागि: सुरक्षा निकायसँग समन्वय र निर्देशनमा लेन अनुशासन कायम गरी अन्य वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गरिएको छ।
यात्रुहरूलाई यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन र वैकल्पिक मार्ग प्रयोग गर्न प्रशासनले अनुरोध गरेको छ।