काठमाडौँ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ्ग गाउँपालिका-१० स्थित जवाङ खोला नजिकै ठूलो पहिरो खस्दा काठमाडौँ जाने सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। गएरातिदेखि पहिरो खस्न सुरु भएकोमा बिहान साढे ५ बजे पहाडै खसेपछि बाटो पूर्ण रूपमा बन्द भएको धादिङका प्रहरी प्रमुख एसपी भेषराज रिजालले जानकारी दिए।
एसपी रिजालका अनुसार, पहिरो पन्छाउन कम्तीमा ५ घण्टाभन्दा बढी समय लाग्ने अनुमान गरिएको छ। तीन वटा मेसिनले पहिरो हटाउने काम गरिरहेका छन्, तर माथिबाट पहाड नै चिरा परेकाले थप पहिरो खस्ने सम्भावना रहेको उनले बताए।
यसैगरी, नारायणगढ-मुग्लिन सडक खण्डको तुइनखोलामा पनि पहिरोका कारण सडक अवरुद्ध भएको छ। बिहान खसेको पहिरो खुलाउन करिब एक घण्टा लाग्ने डिभिजन सडक कार्यालय चितवनका इन्जिनियर अर्जुन घिमिरेले जानकारी दिए।
दुवै प्रमुख राजमार्ग अवरुद्ध हुँदा दशैँको मुखमा यात्रा गर्ने यात्रुहरू अलपत्र परेका छन्।