काठमाडौँ।
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा वीरगञ्ज नाका हुँदै २६ अर्ब ३३ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। यस अवधिमा डिजेल, पेट्रोल, एलपिजी, एटिएफ र मट्टितेल आयात गरिएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष १ अर्ब ७६ करोड रुपैयाँ बढीको पेट्रोलियम पदार्थ आयात भएको प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले जानकारी दिए। आयातमा वृद्धिसँगै राजस्व सङ्कलनमा पनि १ अर्ब २९ करोड रुपैयाँको वृद्धि भएको छ।
कार्यालयका अनुसार, चालु आवको दुई महिनामा पेट्रोलियम पदार्थबाट ११ अर्ब १८ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ, जुन गत वर्षको ९ अर्ब ८९ करोड रुपैयाँभन्दा बढी हो।
यस अवधिमा ११ अर्ब ९१ करोड रुपैयाँको १ लाख ३२ हजार ८ सय २४ किलोलिटर डिजेल आयात हुँदा ५ अर्ब २८ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ। त्यस्तै, ६ अर्ब ८२ करोड रुपैयाँको ८० हजार ५ सय ६० किलोलिटर पेट्रोल आयातबाट ४ अर्ब ५४ करोड रुपैयाँ राजस्व उठेको छ।
एलपी ग्यास आयात भने गत वर्षको तुलनामा केही घटेको छ। चालु आवको दुई महिनामा ५ अर्ब १२ करोड रुपैयाँको एलपी ग्यास आयात हुँदा ९६ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ, जबकि गत वर्ष १ अर्ब रुपैयाँ राजस्व सङ्कलन भएको थियो।
प्रमुख भन्सार प्रशासक ज्ञवालीले पेट्रोलियम पदार्थ र सवारीसाधन आयात वीरगञ्ज भन्सार कार्यालयको राजस्वको मुख्य आधार रहेको बताए।