काठमाडौँ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा सिफारिस भएका वैज्ञानिक महावीर पुनले बधाई र खादामाला लिएर नआउन अनुरोध गर्दै आफूलाई 'कबाडी वैज्ञानिक मन्त्री' भन्न आग्रह गरेका छन्।
आज (सोमबार) बिहान सामाजिक सञ्जालमार्फत पुनले भनेका छन्, "कसैले पनि लौ बधाई छ भनेर फोन नगर्नुहोला र बधाई दिन खादा-माला लिएर नआउनुहोला। बरु शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा ५ महिनाभित्र गर्न सकिने र गर्ने पर्ने ठोस काम र आइडिया छ भने मेरो ह्वाट्सएपमा पठाउनु होला। मलाई कसैले पनि मन्त्री नभन्नुहोला। कसैलाई मन्त्री नै भन्न साह्रै रहर छ भने 'कबाडी वैज्ञानिक मन्त्री भन्नुहोला।"
प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पुनसहित पाँच जनाको नाम मन्त्री पदमा नियुक्तिका लागि राष्ट्रपतिको कार्यालय पठाएकी थिइन्। आज उद्योगमन्त्रीमा अनिलकुमार सिन्हा, स्वास्थ्यमन्त्रीमा संगीता कौशल मिश्र, कृषिमन्त्रीमा मदन परियार, सञ्चारमन्त्रीमा जगदीश खरेल र शिक्षामन्त्रीमा महावीर पुनले शपथ लिँदैछन्।
जेनजी विद्रोहपछि बनेको अन्तरिम सरकारको मुख्य जिम्मेवारी आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न गराउनु हो।