काठमाडौँ ।
जेनजी आन्दोलनका क्रममा भिमफेदी कारागार मकवानपुरबाट कैदीबन्दी भगाउने घटनामा कारागारको आन्तरिक प्रशासनका नाइके टेक बहादुर वाइवाको मुख्य योजना रहेको र उनलाई प्रशासनले नै संरक्षण दिएको खुलासा भएको छ। फरार एक कैदीबन्दीका अनुसार, वाइवाले भदौ २४ गते राति कारागारमा आगजनी गरी कैदी भगाउने योजना बनाएका थिए।
वाइवाले विगत ५ वर्षदेखि कारागारभित्र लुटधन्दा चलाउँदै आएको र जेलर सुवास पौडेलको समेत संलग्नता रहेको आरोप लागेको छ। घटनाका क्रममा सशस्त्र प्रहरी बलले गोली चलाउँदा दुई कैदी घाइते भएका थिए भने ४ सयभन्दा बढी कैदी फरार भएका थिए। हालसम्म २५३ जना कैदी फरार छन्।

कारागार प्रशासनले वाइवालाई आर्थिक प्रलोभनमा परी संरक्षण दिएको र उनकै कारण कारागारमा असुरक्षा बढेको स्रोतको दाबी छ। वाइवालाई कारागार स्थानान्तरण गर्न पनि आर्थिक प्रभावकै कारण नसकिएको बताइएको छ।