काठमाडौँ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मानसिकतामा परिवर्तन हुन नसकेकै कारणले जेन–जी पुस्ता आन्दोलन गर्न बाध्य भएको धारणा राखेका छन्। संविधान दिवस २०८२ को उपलक्ष्यमा जनकपुरधाममा आयोजित एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिंहले यस्तो बताएका हुन्।
मुख्यमन्त्री सिंहले अहिलेको गतिशील जमानामा प्रविधि र पद्धतिमा परिवर्तन आए पनि देश चलाउनेहरू पुरानै मानसिकताका साथ काम गरिरहेकाले जेनजीले आन्दोलन गरेको बताए। उनले अहिलेको पुस्तालाई हरेक काम सहज र छिटो हुनेगरी चाहिनेमा सरकारी कार्यालयहरूमा कुनै काम गर्न जाँदा घण्टौँ लाग्ने र कहिलेकाहीँ कयौँ दिन कार्यालय धाउनुपर्ने हुँदा जेनजी पुस्तामा आक्रोश सिर्जना भएको उल्लेख गरे।
उनले नेतादेखि सरकारी कार्यालयका कर्मचारीहरूसम्मको मानसिकता विकास हुन नसकेकोले देश पनि पुरानै पद्धतिमा चलिरहेको बताए। नयाँ पुस्ताले चाहे अनुसार काम गर्ने वातावरणका साथै आफ्नो मानसिकतालाई अपग्रेड गर्न आवश्यक रहेको मुख्यमन्त्री सिंहको भनाइ थियो। उनले संविधान नयाँ आए पनि संविधानको दायरामा रहेर काम गर्नेहरूको मानसिकता पुरानै रहेको गुनासो गरे।
मुख्यमन्त्री सिंहले अहिलेको संविधान उत्कृष्ट रहे पनि केही बुँदामा संशोधन गर्न आवश्यक रहेको बताए।