काठमाडौँ।
गोदावरी नगरपालिका, ललितपुर–३ का वडाअध्यक्ष राज घिमिरेले यस वर्षको दशैं पर्व नमनाउने घोषणा गरेका छन् । देशमा विद्यमान दुःखद परिस्थितिलाई मध्यनजर गर्दै उनले दशैंमा खर्च हुने रकम ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचार तथा ध्वस्त भएका प्रहरी चौकीहरूको पुनर्निर्माणमा प्रयोग गर्ने निर्णय गरेका हुन् ।
सोही योजनाअनुरूप वडा अध्यक्ष घिमिरेले गोदावरी बसपार्कमा निर्माणाधीन अवस्थामा रहेको प्रहरी चौकीलाई सहयोगस्वरूप ५० हजार रुपैयाँ हस्तान्तरण गरेका छन् । गत भदौ २४ गते प्रदर्शनकारीहरूले आगजनी गर्दा उक्त चौकी पूर्ण रूपमा नष्ट भएको थियो ।

वडा अध्यक्ष घिमिरेले समुदायकै सुरक्षासँग जोडिएको संरचना पुनःस्थापना हुनु सबै नागरिकको जिम्मेवारी रहेको बताएका छन् । उनले भने, "उत्सवभन्दा पनि घाइतेहरूको उपचार र प्रहरी चौकी पुनर्निर्माण अहिलेको आवश्यकता हो ।"
स्थानीयवासीहरूले वडा अध्यक्ष घिमिरेको यस निर्णयलाई स्वागत गर्दै यो पहलले पुनर्निर्माण कार्यमा थप गति ल्याउने विश्वास व्यक्त गरेका छन् । उनको यो कदमले विपत्तिको समयमा समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको छ ।
