काठमाडौँ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेता सुमना श्रेष्ठले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा आफू सहभागी नहुने स्पष्ट पारेकी छिन्। सामाजिक सञ्जालमा आफू मन्त्री बन्ने चर्चा चुलिएपछि शनिबार फेसबुक लाइभमार्फत उनले यस्तो घोषणा गरेकी हुन्।
श्रेष्ठले भनिन्, "कलिला भाइबहिनीहरूको बलिदानमा मन्त्री बन्ने सपना नराखौँ। संस्कार परिवर्तनमा लाग्नुपर्छ, सत्ता होइन। सेवा सोच्नुपर्छ, कुर्सी होइन। कर्म सोचौँ, नाम होइन।" उनले आफूबारे फैलिएको भ्रममा नपर्न आग्रह गर्दै क्याबिनेटमा जान नलागेको र युवालाई साथ दिनुपर्नेमा जोड दिइन्।
शुक्रबार राति प्रधानमन्त्री कार्कीको शपथ ग्रहण समारोहमा सुमना श्रेष्ठ उपस्थित भएकी थिइन् र उनले कार्कीलाई बधाई पनि दिएकी थिइन्। यसै घटनापछि सामाजिक सञ्जालमा उनी पनि मन्त्री बन्ने चर्चा तीव्र रूपमा फैलिएको थियो। तर, श्रेष्ठको यो स्पष्टीकरणले उक्त चर्चामा पूर्णविराम लगाएको छ। उनले युवा आन्दोलनको भावनालाई सम्मान गर्दै सत्ताको पछि नलागी संस्कार परिवर्तन र सेवामा केन्द्रित हुनुपर्ने सन्देश दिएकी छिन्।