काठमाडौँ ।
नेपाल सरकारले जेनजी पुस्तालाई जारी आन्दोलन स्थगित गरी शान्ति सुव्यवस्था कायम गर्न सहयोगका लागि आग्रह गरेको छ। मन्त्रिपरिषद्को पछिल्लो बैठकले आन्दोलनमा घुसपैठ गरी सार्वजनिक सम्पत्ति तोडफोड तथा अराजकता मच्चाउने तत्वहरूको पहिचान गरी घटनाको छानबिन गर्न यथाशीघ्र समिति गठन गर्ने निर्णय पनि गरेको छ।
मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरे। उनले मृतकका परिवारलाई राहत तथा घाइतेहरूको उपचारको सम्पूर्ण व्यवस्था सरकारले मिलाउने जानकारी पनि दिए।
सरकारले युवा पुस्ताका जायज मागहरूलाई सम्बोधन गर्न तयार रहेको संकेत गर्दै, संवादको माध्यमबाट समस्या समाधान गर्न आह्वान गरेको छ।