काठमाडौँ ।
२२ औं निजामती सेवा दिवस 'व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन' भन्ने नाराका साथ मनाइँदै गर्दा यस वर्षको समारोहमा भने रौनक देखिएन । विगतका वर्षहरूमा जस्तो यो वर्ष उत्कृष्ट काम गर्ने निजामती कर्मचारीहरूलाई पुरस्कार प्रदान गरिएन, न त प्रधानमन्त्री नै मूल समारोहमा उपस्थित भए ।
मुख्यसचिव एकनारायण अर्यालको संयोजकत्वमा रहेको मूल समारोह समितिले बिहान सिंहदरवारबाट प्रभातफेरि निकालेर नेपाल पुलिस क्लब भृकुटीमण्डपमा मूल समारोह कार्यक्रम सुरु गरेको थियो । तर, निजामती सेवामा कार्यरत करिब ८५ हजार कर्मचारीका लागि ठूलो उत्सव र कदरको दिन मानिने यस दिवसमा प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली अनुपस्थित भई उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई पठाएका थिए ।
सबैभन्दा चिन्ताजनक पक्ष त, विगत ९ वर्षदेखि सर्वोत्कृष्ट कर्मचारी नभेटाएको सरकारले यस वर्ष अन्य कुनै पनि विधामा कर्मचारीलाई पुरस्कार प्रदान गरेन । कर्मचारी कल्याण महाशाखाकी शाखा अधिकृत सीतादेवी थापाका अनुसार, कर्मचारीको सूची तयार पारिए पनि मन्त्रिपरिषद्को स्वीकृति नहुँदा पुरस्कार वितरण हुन नसकेको हो ।
पछिल्लो पटक २०७३ मा तत्कालीन सचिव शान्तराज सुवेदीले सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार पाएका थिए । २०१३ भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यको नेतृत्वको सरकारले निजामती सेवा ऐन ल्याएको दिन पारेर २०६२ सालदेखि यो दिवस मनाउन थालिएको हो ।
यस अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले बदलिँदो विश्व परिवेश, नयाँ प्रविधि र जनअपेक्षा बमोजिम निजामती सेवाका कर्मचारीले आफूलाई रूपान्तरण गर्न जरुरी रहेको बताएका छन् । तर, पुरस्कारविहीन समारोह र प्रधानमन्त्रीको अनुपस्थितिले यस वर्षको निजामती सेवा दिवसमा भने कर्मचारीहरूमा उत्साह कम देखिएको छ ।