काठमाडौँ।
पूर्वराष्ट्रपति विद्या देवी भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई विचार र बहसलाई मजबुत बनाउन सुझाव दिएकी छन्। मंगलबार बिहान आफ्नो निवास भंगालमा भेट्न पुगेका रास्वपा प्रवक्ता मनिष झासँगको कुराकानीमा उनले यस्तो सुझाव दिएकी हुन्।
करीब डेढ घण्टा चलेको भेटमा पूर्वराष्ट्रपति भण्डारीले भूराजनीति, राष्ट्रिय हित र समृद्धिका विषयमा खुला छलफल चलाउनुपर्नेमा जोड दिएको प्रवक्ता झाले जानकारी दिए। "नयाँ राजनीतिक दललाई पुरानाले गाइड गर्नुपर्छ," झाले भण्डारीको भनाइ उद्धृत गर्दै भने।
भेटका क्रममा झाले समान प्रकृतिका मुद्दामा रास्वपा सभापति रवि लामिछानेमाथि गरिएको व्यवहारप्रति असन्तुष्टि जनाएका थिए। जवाफमा पूर्वराष्ट्रपति भण्डारीले कानुनको नजरमा सबै समान हुने र कसैलाई पनि काखापाखा गर्न नहुने टिप्पणी गरेकी थिइन्।
भेटको अन्त्यमा झाले 'रवि लामिछानेलाई केही सन्देश छ कि?' भनेर सोध्दा भण्डारीले सद्भाव प्रकट गरेकी थिइन्। "रविजीप्रति मेरो सद्भाव छ भनिदिनुहोला," उनले भनेको झाले जानकारी दिए।