काठमाडौँ ।
सशस्त्र प्रहरी बलले बर्दियाबाट ४८ लाख रुपैयाँभन्दा बढी मूल्यको अवैध इलेक्ट्रोनिक भेप बरामद गरेको छ। भारततर्फ तस्करी गर्न लागिएको उक्त भेप शुक्रबार राति मधुवन नगरपालिकाबाट बरामद गरिएको हो।
जिल्लाको मधुवन नगरपालिका–५, फुलराम चोकबाट साइकलमा राखेर अवैध रूपमा भारत लैजाँदै गरेको अवस्थामा भेप बरामद गरिएको हो। शक्तिपुरस्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) बाट खटिएको गस्ती टोलीलाई देख्नासाथ तस्करहरू भेपका कार्टुन छोडेर भागेका थिए।
प्रहरीका अनुसार, बरामद गरिएका ८ वटा कार्टुनमा १ हजार ९२० थान भेप रहेका थिए। बरामद गरिएको भेप आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ। साथै, फरार तस्करहरूको खोजी भइरहेको प्रहरीले बताएको छ।