काठमाडौँ ।
कर्णाली प्रदेश सरकारमा सत्ता साझेदार दलहरूबीच मतभेद बढिरहेका बेला मुख्यमन्त्री यामलाल कँडेलले नेपाली काँग्रेसका सभापति शेर बहादुर देउबालाई भेटेका छन्। मुख्यमन्त्री कँडेलले देउवालाई उनकै निवास बूढानीलकण्ठमा भेट गरेका हुन्।
भेटपछि मुख्यमन्त्री कँडेलले आफ्नो फेसबुकमार्फत भेटघाटबारे जानकारी दिएका छन्। उनले देउवासँगको भेटमा समसामयिक राजनीति, कर्णाली प्रदेश सरकारको कामकारबाही, विकास, समृद्धि र सुशासनका सम्बन्धमा छलफल भएको उल्लेख गरेका छन्।
कर्णालीमा सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसबीच सरकार सञ्चालनको विषयलाई लिएर केही समययता विवाद देखिँदै आएको छ। केही समयअघि मात्रै एमाले संसदीय दलको बैठकले कांग्रेस गठबन्धनको मर्मअनुरूप नचलेको निष्कर्ष निकालेको थियो।
प्रदेश स्तरमा देखिएको यही मतभेदलाई समाधान गर्न मुख्यमन्त्री कँडेलले शीर्ष नेता देउवासँग छलफल गरेको बुझिएको छ।