काठमाडौँ ।
लामो समयदेखि विवादित बनेको विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन संसदीय समितिको बैठक सुरु भएको छ। निजी विद्यालय सञ्चालकहरूको आन्दोलनकै बीच शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले आज विधेयकमाथिका विवादित विषय टुंग्याएर पारित गर्ने तयारी गरेको हो।
बिहान ८ बजेका लागि बोलाइएको बैठक केही ढिला गरी सुरु भएको हो। समितिको आजको कार्यसूची विधेयकमा रहेका विवादित विषयहरूमा सहमति जुटाएर त्यसलाई अन्तिम रूप दिने रहेको छ।
विधेयकमा प्रस्तावित निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाउने र विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिनुपर्ने प्रावधानमा मुख्य विवाद छ। यही व्यवस्थाको विरोधमा निजी विद्यालय सञ्चालकहरूले आन्दोलन सुरु गरिसकेका छन्।
यसअघि समितिले यी विवादित विषयहरूलाई थाँती राखेर प्रतिवेदन तयार पारेको भए पनि पछिल्ला छलफलहरूमा सहमति जुटाएको छ। समितिले निजी विद्यालयहरूलाई क्रमशः गैरनाफामूलक बनाउने र विद्यार्थी संख्याको आधारमा १० देखि १५ प्रतिशतसम्म पूर्ण छात्रवृत्ति दिनुपर्ने व्यवस्थामा सहमति कायम गरेको हो। आजको बैठकले सोही सहमतिलाई अनुमोदन गर्दै विधेयक पारित गर्ने अपेक्षा गरिएको छ।