काठमाडौँ ।
नेपाल आयल निगमले शनिबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टीतेलको मूल्य घटाएको छ। निगमले जारी गरेको विज्ञप्ति अनुसार, पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढाइएको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाइएको छ।
इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यसूचीमा पेट्रोलको भाउ बढेर र डिजेल तथा मट्टीतेलको मूल्य घटेर आएकाले सोही बमोजिम मूल्य समायोजन गरिएको निगमले जनाएको छ।

ईन्डियन आयल कर्पोरेसनबाट प्राप्त पत्र अनुसार नयाँ खरिद मुल्यमा पेट्रोल बढेर र डिजेल र मट्टीतेल घटेर आएकाले निगम संचालक समितिको निणयबाट नयाँ सुची जारी गरेको जनाएको छ ।
अब पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १५८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १६० रुपैयाँ र तेस्रो वर्गका लागि १६१ रुपैयाँ तोकिएको छ । यस्तै, डिजेल तथा मट्टीतेलको मूल्य पहिलो वर्गका लागि १४६ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १४८ रुपैयाँ र तेस्रो वर्गका लागि १४९ रुपैयाँ निर्धारण गरिएको नेपाल आयल निगमले जानकारी दिएको छ ।
निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो र काठमाडौं, पोखरा र दीपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ ।