काठमाडौँ ।
देशका विभिन्न भागमा देखिएको रासायनिक मल अभावको समस्या समाधानका लागि प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले आज छलफल गर्दैछन्। यसका लागि उनले कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी, सचिव डा. गोविन्दप्रसाद शर्मा र कृषि सामग्री कम्पनी लिमिटेडका पदाधिकारीलाई सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाएका छन्।
मलको मौज्दात हुँदा र थप मल आउने क्रममा रहँदा पनि किसानले समयमा मल नपाएको गुनासो बढेपछि प्रधानमन्त्रीले यस विषयमा चासो देखाएका हुन्। उनले समस्या समाधानमा उच्च प्राथमिकता दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
दिउँसो हुने छलफलमा रासायनिक मलको सहज आपूर्ति, हालको मौज्दात अवस्था र वितरण प्रणालीबारे समीक्षा हुने बताइएको छ।
यसअघि पनि प्रधानमन्त्री ओलीले खेतीपातीको समय सुरु हुनुअगावै कृषिमन्त्रीसहितका अधिकारीहरूसँग छलफल गरी मल अभाव हुन नदिन निर्देशन दिएका थिए। सोही क्रममा उनले नेपालमै रासायनिक मल कारखाना स्थापना गर्ने र प्राङ्गारिक मलको उत्पादन तथा प्रयोग बढाउने योजना अघि सार्न पनि निर्देशन दिएका थिए।