काठमाडौँ ।
भुटानमा जारी एसीसी महिला यू-२० एसियन कप छनोट अन्तर्गत नेपालले आज आफ्नो अन्तिम तथा निर्णायक खेलमा बलियो प्रतिद्वन्द्वी उत्तर कोरियाको सामना गर्दैछ। एसियन कपमा छनोट हुने सम्भावना जीवितै राख्न नेपाललाई यो खेलमा उत्कृष्ट प्रदर्शन गर्नुको विकल्प छैन।
थिम्पुस्थित चाम्लिङ्थाम रंगशालामा नेपाली समय अनुसार दिउँसो पौने २ बजे सुरु हुने खेलमा नेपाल जितकै लक्ष्य लिएर मैदान उत्रनेछ। समूह 'ए' मा रहेको नेपालले समूह विजेता अथवा उत्कृष्ट दोस्रो टिम बन्न सके एसियन कपमा स्थान बनाउनेछ।
नेपाली महिला टोलीका मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले उत्तर कोरियाविरुद्धको महत्त्वपूर्ण खेललाई ध्यानमा राख्दै रणनीति बनाएको बताएका छन्। उनले शुक्रबार साउदी अरेबियाविरुद्धको खेलमा प्रमुख खेलाडीलाई आराम दिँदै पाँच नयाँ खेलाडीलाई अवसर दिएका थिए, जसले उत्तर कोरियाविरुद्धको तयारीलाई प्रष्ट पार्छ। उक्त खेलमा नेपालले १-० को साँघुरो जित निकालेको थियो।
उत्तर कोरिया प्रतियोगिताको साबिक च्याम्पियन तथा सबैभन्दा बलियो टोली हो। उसले छनोटको पहिलो खेलमा साउदी अरेबियालाई १५-० र दोस्रो खेलमा आयोजक भुटानलाई १०-० को फराकिलो अन्तरले पराजित गर्दै आफ्नो उत्कृष्ट लय प्रस्तुत गरिसकेको छ।
नेपालले भने पहिलो खेलमा भुटानसँग १-१ गोलको बराबरी खेलेको थियो र दोस्रो खेलमा साउदीलाई हराएको थियो। दुई खेलबाट ४ अंकसहित नेपाल समूहको दोस्रो स्थानमा छ। आजै हुने अर्को खेलमा समूहका अन्य दुई टोली भुटान र साउदी अरेबिया पनि प्रतिस्पर्धा गर्दैछन्।