काठमाडौं । फिफा विश्वकप २०२६ प्रतियोगिताका शीर्ष आठ टोलीहरू क्वार्टरफाइनलका लागि छनोट भइसकेका छन् । अमेरिका, मेक्सिको र क्यानडाको संयुक्त आयोजनामा भइरहेको फिफा विश्वकप २०२६ को राउन्ड अफ १६ का सबै खेल सम्पन्न भएसँगै क्वाटरफाइनल पुग्ने आठ टोलीको टुङ्गो लागेको हो ।
क्वाटरफाइनलमा साविक विजेता अर्जेन्टिनासहित फ्रान्स, स्पेन, इङ्गल्याण्ड, बेल्जियम, स्विट्जरल्याण्ड, मोरक्को र नर्वेले स्थान बनाएका छन् । नर्वे पहिलो पटक अन्तिम आठमा पुगेको हो । यसपटक भने तीनै सह–आयोजक राष्ट्र अमेरिका, मेक्सिको र क्यानडा प्रतियोगिताबाट बाहिरिएका छन् ।
अब अर्को चरणको नकआउट खेलहरू जुलाई ९ देखि ११ सम्म हुने छ । क्वाटरफाइनलको पहिलो खेल जुलाई ९मा फ्रान्स र मोरक्को भिड्ने छन् । यस खेलमा किलियन एम्बाप्पे नेतृत्वको फ्रान्स र अफ्रिकाको एकमात्र बाँकी प्रतिनिधि मोरक्कोबीच कडा प्रतिस्पर्धा हुने छ।
दोस्रो क्वाटरफाइनलमा जुलाई १०मा स्पेन र बेल्जियम भिड्नेछन् । प्रतियोगितामा हालसम्म गोल नखाएको स्पेन र उत्कृष्ट लयमा रहेको बेल्जियमबीच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ ।
जुलाई ११ मा हुने तेस्रो क्वाटरफाइनलमा पहिलो पटक अन्तिम आठमा पुगेको नर्वेले इङ्गल्याण्डको सामना गर्नेछ। अर्लिङ हाल्याण्ड र ह्यारी केन नेतृत्वका टोलीबीचको यो खेल विशेष आकर्षणको केन्द्रमा रहनेछ।
त्यसै दिन हुने अन्तिम क्वाटरफाइनल खेलमा अर्जेन्टिना र स्विट्जरल्याण्ड आमनेसामने हुनेछन् । ७२ वर्षपछि क्वाटरफाइनल पुगेको स्विस टोलीले लियोनल मेस्सी नेतृत्वको अर्जेन्टिनाविरुद्ध इतिहास रच्ने लक्ष्य राख्नेछ।
क्वाटरफाइनलका चारै खेलका विजेताले सेमिफाइनलमा स्थान बनाउनेछन् भने पराजित टोलीहरूको विश्वकप यात्रा यही चरणमा समाप्त हुनेछ। विश्व फुटबलका स्थापित शक्तिहरू र नयाँ चुनौतीकर्ताबीच हुने यी प्रतिस्पर्धाले उपाधि दौडलाई अझ रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ।