काठमाडौँ ।
प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज काठमाडौँ उपत्यकासहित देशभर विभिन्न कार्यक्रमको आयोजना गरी श्रद्धापूर्वक मनाइँदैछ।
एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ-आफ्ना क्षेत्रमा परिक्रमा गराउने चलन छ। परिक्रमामा सहभागी हुनेहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ। यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी नदी पार हुन्छन् भन्ने बलियो धार्मिक विश्वास रहिआएको छ।
यो पर्वको सुरुवातबारे ऐतिहासिक तथ्य पनि रोचक छ। राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई संसारमा अरूले पनि यस्तै शोक व्यहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ-आफ्नो घरका दिवङ्गत भएका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका थिए। तर, यसबाट पनि रानीको मन शान्त हुन नसकेपछि विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रमहरू गराउने आदेश दिएअनुरूप गाईजात्रामा हास्यव्यङ्ग्यको प्रचलन चलेको जनश्रुति पाइन्छ। यही पर्वबाट नेपालमा समसामयिक राजनीति र सामाजिक विकृतिमाथि व्यङ्ग्य गर्ने परम्पराको पनि थालनी भएको मानिन्छ।