काठमाडौँ ।
कारागार प्रशासनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई कारागारभित्र विशेष सुविधा दिएको भन्ने समाचारको खण्डन गरेको छ। प्रशासनले लामिछानेलाई अन्य कैदीबन्दीसरह नै व्यवहार गरिएको र कुनै पनि प्रकारको विभेद नगरिएको स्पष्ट पारेको छ।
विभिन्न सञ्चारमाध्यममा लामिछानेको कारागार बसाइबारे आएका फरक-फरक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कारागार प्रशासक सुरेश भण्डारीले एक विज्ञप्ति जारी गरेका हुन्। उनले समाचारमा प्रयोग भएका तस्बिरहरू कारागारभित्रको नभएको र उल्लेख गरिएजस्तो अवस्था नरहेको बताएका छन्।
विज्ञप्तिमा भनिएको छ, "सहकारी ठगी सम्बन्धी मुद्दामा थुनुवाको रूपमा विगत चार महिनादेखि पूर्व उपप्रधानमन्त्री तथा हाल निलम्बनमा रहनुभएका प्रतिनिधि सभा सदस्य रवि लामिछाने यस कारागारमा रहनु भएको छ। उहाँको सुरक्षालाई ध्यानमा राखी कारागार प्रशासनले एउटा छुटै कोठामा बसोबासको व्यवस्था मिलाएको छ।"
प्रशासनले लामिछानेलाई अन्य सामान्य कैदीबन्दीसरहकै सेवा सुविधा उपलब्ध गराइएको स्पष्ट पारेको छ। "अन्य सामान्य कैदीहरूले पाउने सेवा सुविधामा विभेद नगरीकन उहाँलाई पनि यस कार्यालयले सेवा सुविधा उपलब्ध गराउँदै आएको छ," विज्ञप्तिमा उल्लेख छ, "उहाँले चाहेको खण्डमा मात्र बाहिरवाट आउने व्यक्तिले भेट्न पाउने तथा सञ्चार सुविधा उपयोग गर्ने वातावरण मिलाइएको छ।"
कारागार प्रशासनले सुरक्षाका दृष्टिले संवेदनशील क्षेत्र भएकाले सम्बन्धित समाचार प्रकाशन गर्दा भ्रम सिर्जना हुने गरी सामग्री प्रस्तुत नगर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ। कार्यालयसँग आधिकारिक सूचना लिएर मात्र सत्यतथ्य समाचार प्रकाशन तथा प्रसारण गर्नसमेत विज्ञप्तिमार्फत अनुरोध गरिएको छ।