काठमाडौँ।
नेपाली काँग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई पदबाट राजीनामा दिन निर्देशन दिने तयारी गरेको छ। विवादित संघीय निजामती सेवा विधेयकमा उनको भूमिका जिम्मेवार रहेको ठहर गर्दै कांग्रेसले उनलाई नैतिक आधारमा राजीनामा दिन लगाउन लागेको हो।
विधेयकमा रहेको ‘कुलिङ अफ पिरियड’ को व्यवस्थालाई निस्तेज पार्ने गरी प्रतिनिधि सभाबाट विधेयक पारित भएपछि सभापति खतिवडा चर्को विवादमा तानिएका थिए। समितिको सभापतिको हैसियतमा उनको भूमिकाको पार्टीभित्र र बाहिरबाट व्यापक आलोचना भएको थियो।
यही घटनाको छानबिन गर्न कांग्रेसले सहमहामन्त्री जीवन परियारको संयोजकत्वमा एक समिति गठन गरेको थियो। समितिले खतिवडा नै जिम्मेवार रहेको निष्कर्षसहितको प्रतिवेदन पार्टीलाई बुझाएपछि उनलाई हटाउनुपर्ने दबाब बढेको हो।
कांग्रेस स्रोतका अनुसार, पार्टी सभापति शेर बहादुर देउबासहित शीर्ष नेताहरूबीच खतिवडालाई जिम्मेवारीबाट हटाउने विषयमा सहमति जुटिसकेको छ। देउवा स्वयं पनि खतिवडालाई पदमुक्त गर्नुपर्ने पक्षमा रहेको बताइएको छ।
पार्टीभित्र र बाहिरबाट बढेको दबाबका कारण केही दिनभित्रै खतिवडालाई राजीनामा दिन औपचारिक निर्देशन दिइने तयारी भइरहेको स्रोतले जनाएको छ।