काठमाडौँ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आज (आइतबार) आफ्नो पदबाट राजीनामा दिने भएका छन्। सत्ता गठबन्धनमा भएको पूर्वसहमति कार्यान्वयन गर्दै उनले आज बिहान हेटौंडास्थित प्रदेश प्रमुखको कार्यालयमा राजीनामा बुझाउने तयारी गरेका छन्।
मुख्यमन्त्री लामाको राजीनामासँगै नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँ नयाँ मुख्यमन्त्री बन्ने निश्चित भएको छ।
स्रोतका अनुसार, मुख्यमन्त्री लामा र बानियाँ पक्षबीच भएको पछिल्लो सहमतिपछि राजीनामाको टुङ्गो लागेको हो। सहमति अनुसार, लामाले गत साउन १४ गते नियुक्त गरेका तीन जना मन्त्रीलाई सपथ गराउनु पर्ने र आगामी सरकार सञ्चालनमा लामा पक्षसँग समझदारी कायम गर्नुपर्ने शर्तमा सहमति जुटेको थियो। उक्त प्रस्तावमा सहमति भएपछि मुख्यमन्त्री लामा राजीनामा दिन तयार भएका हुन्।
लामाको राजीनामा स्वीकृत भएलगत्तै प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गर्नेछन्। गठबन्धनको पूर्वसहमति अनुसार, इन्द्र बानियाँले गठबन्धनका दलहरूको समर्थनसहित मुख्यमन्त्री पदमा आफ्नो दाबी पेस गर्नेछन्।
बागमती प्रदेशमा सत्ता साझेदार दलहरूबीच आलोपालो प्रणालीमा सरकारको नेतृत्व गर्ने सहमति भएको थियो। सोही सहमति अनुसार लामाले निश्चित अवधिका लागि सरकारको नेतृत्व गरेका थिए र अब बाँकी कार्यकालका लागि बानियाँले प्रदेश सरकारको नेतृत्व सम्हाल्नेछन्। लामाको राजीनामा र बानियाँको नियुक्तिले बागमती प्रदेशको राजनीतिलाई नयाँ दिशा दिने अपेक्षा गरिएको छ।