काठमाडौँ,जेठ २५।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक (एमडी) संगीता पहाडीसहित १८ जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गर्ने निर्णय गरेको छ। अख्तियारले ३३ करोड रुपैयाँ बिगो माग दाबी गर्दै विशेष अदालतमा मुद्दा लैजाने तयारी गरेको हो।
अख्तियार स्रोतका अनुसार, नेपाल टेलिकमको बिलिङ प्रणाली र त्यसको मर्मत सम्झौता (AMC) मा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै आयोगले मुद्दा अघि बढाएको हो। प्रबन्ध निर्देशक पहाडी लगायतका कर्मचारीले चिनियाँ कम्पनी 'एसिया इन्फो' सँगको मिलेमतोमा बिलिङ प्रणालीको नेगोसियसनका नाममा टेलिकमलाई वार्षिक ६० करोडभन्दा बढी घाटा पुर्याएको अख्तियारको अनुसन्धानबाट खुलेको छ।
उक्त चिनियाँ कम्पनीसँगको सम्झौता र भुक्तानीमा अनियमितता गरी पदीय दुरुपयोगमार्फत भ्रष्टाचार गरेको अभियोगमा उनीहरूविरुद्ध मुद्दा दर्ता गर्न लागिएको हो। आयोगले छिट्टै मुद्दालाई विशेष अदालतमा पेस गर्ने तयारी गरेको स्रोतले जनाएको छ।