काठमाडौँ।
बागमती प्रदेशमा राजनीतिक घटनाक्रमले नाटकीय मोड लिएको छ। मुख्यमन्त्री बहादुर सिंह लामाले कांग्रेस संसदीय दलको नेताको हैसियत गुमाएसँगै उनले नियुक्त गरेका नयाँ मन्त्रीहरूको शपथ ग्रहण अनिश्चितकालका लागि रोकिएको छ।
प्रदेश प्रमुखको कार्यालयले प्रदेश प्रमुख यादवचन्द्र शर्माको स्वास्थ्यमा अकस्मात समस्या आएको कारण देखाउँदै बिहीबार हुने भनिएको शपथ कार्यक्रम स्थगित गरेको हो। कार्यालयले एक विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुख उपचारका लागि काठमाडौं प्रस्थान गरेकोले शपथ ग्रहण अर्को सूचना नभएसम्मका लागि रोकिएको जनाएको छ।

यसअघि बुधबार नै मुख्यमन्त्री लामाले कांग्रेस संसदीय दलको नेता पद गुमाएका थिए। पार्टीभित्र भएको निर्वाचनमा उनी इन्द्रबहादुर बानियाँसँग पराजित भएका थिए। दलको नेता पद गुमाएलगत्तै लामाले मन्त्री नियुक्तिका लागि गरेको सिफारिसको वैधानिकतामाथि प्रश्न उठेको थियो।
मुख्यमन्त्री लामाले बुधबार बिहानै चितवनकी माया श्रेष्ठ, गीता गुरुङ र धादिङका गोविन्द लम्साललाई मन्त्री नियुक्त गरी शपथका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका थिए। तर, कांग्रेसको आन्तरिक विवाद र संसदीय दलको निर्वाचन प्रक्रिया चलिरहेको बेला सत्ता साझेदार एमालेले समेत तत्काल मन्त्री नियुक्ति प्रक्रिया अघि नबढाउन सुझाव दिएको थियो। सोही कारण बुधबारका लागि तय भएको शपथ रोकिएर बिहीबार दिउँसो १ बजेका लागि सारिएको थियो।
तर, बिहीबार बिहानै प्रदेश प्रमुख बिरामी परेको कारण देखाउँदै शपथ कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएपछि बागमती प्रदेश सरकारको भविष्य थप अन्योलमा परेको छ।