काठमाडौँ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीको मन्त्री पद धरापमा परेको छ। उनको पार्टी लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले नै उनलाई पदबाट हटाउन प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीलाई औपचारिक पत्र पठाएका छन्।
स्रोतका अनुसार, अध्यक्ष ठाकुरले केही दिनअघि प्रधानमन्त्री ओलीलाई भेटेर भण्डारीलाई फिर्ता बोलाउने र उनको स्थानमा सर्वेन्द्रनाथ शुक्ललाई नियुक्त गर्न आग्रहसहितको पत्र हस्तान्तरण गरेका थिए। जवाफमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दा श्रममन्त्री परिवर्तन गर्ने आश्वासन दिएको बताइएको छ।
यो कदम लोसपाभित्रको आन्तरिक सहमतिको कार्यान्वयनका लागि चालिएको हो। २०७९ सालको निर्वाचनपछि पार्टी अध्यक्ष ठाकुरकै पहलमा पहिलो चरणमा भण्डारी र दोस्रो चरणमा शुक्ललाई मन्त्री बनाउने सहमति भएको थियो। तर, पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकार र वर्तमान ओली नेतृत्वको सरकार दुवैमा भण्डारी नै मन्त्रीमा दोहोरिएपछि पार्टीभित्र गहिरो असन्तोष बढेको थियो। यही असन्तुष्टिलाई सम्बोधन गर्न अध्यक्ष ठाकुरले प्रधानमन्त्रीलाई पत्र लेखेका हुन्।
भण्डारी नेपालको राजनीतिमा लामो समयदेखि सत्तामा रहेका नेता मानिन्छन्। उनले स्वर्गीय मरिचमानसिंह श्रेष्ठदेखि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसम्म गरी आठ प्रधानमन्त्रीको कार्यकालमा २० पटक मन्त्री पद सम्हालिसकेका छन्। उनको यो २० औं मन्त्री कार्यकाल अब अन्त्यको संघारमा पुगेको देखिएको छ।