काठमाडौँ ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव नयाँ मोडमा पुगेको छ। प्रस्तावमा हस्ताक्षर गरेका दुई प्रदेश सांसदले आफ्नो समर्थन फिर्ता लिएपछि प्रस्ताव कमजोर बनेको हो।
नेपाली काँग्रेसका प्रदेश सांसद माया श्रेष्ठ र मीना पराजुलीले आफूहरूलाई जानकारी नदिई हस्ताक्षर गराइएको भन्दै अविश्वास प्रस्तावबाट आफ्नो नाम फिर्ता लिएका छन्। उनीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री लामाप्रति आफ्नो समर्थन कायमै रहेको स्पष्ट पारेका छन्।
गत शुक्रबार कांग्रेस संसदीय दलका २१ सांसदले मुख्यमन्त्री लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए। अब दुई सांसदले समर्थन फिर्ता लिएसँगै प्रस्ताव पारित हुन आवश्यक बहुमत नपुग्ने देखिएको छ, जसले गर्दा प्रस्ताव असफल हुने सम्भावना बढेको छ। मुख्यमन्त्री लामाले भने पद नछाड्ने अडान राख्दै आएका छन्।