काठमाडौँ ।
उपसभामुख इन्दिरा रानामगर चीनको ६ दिने औपचारिक भ्रमण पूरा गरी आइतबार राति स्वदेश फर्किएकी छन्। चीनको हेनान प्रान्तमा आयोजित एक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएर उनी राति ११:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकी हुन्।
भ्रमणका क्रममा उनले साउन ७ देखि ११ गतेसम्म आयोजित 'सांघाई सहयोग मञ्च, मिडिया र थिंक ट्याङ्क शिखर सम्मेलन'मा सहभागिता जनाइन्। सम्मेलनमा उनले ‘विकासका लागि स्थिर वातावरणको सुरक्षामा नेपालको दृष्टिकोण’ विषयमा मन्तव्य दिएकी थिइन्।
सो क्रममा उनले हेनान प्रान्तका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्नुका साथै झेङझोउ शहरलगायतका विभिन्न स्थानको अवलोकन भ्रमण गरेकी थिइन्। उपसभामुख रानाको नेतृत्वमा संघीय संसद सचिवालयका उपसचिव जगदीश न्यौपानेसमेत सम्मिलित दुई सदस्यीय टोली साउन ६ गते चीनतर्फ प्रस्थान गरेको थियो।