काठमाडौँ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का सांसद रणेन्द्र बरालीले देशको अवस्था चौतर्फी रूपमा बिग्रिएको टिप्पणी गरेका छन्। बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मगर भाषाको उखान ‘इलाङ भरस्टा, आलाङ भ्ररस्टा’ को उदाहरण दिँदै देशको अवस्था ‘यता पनि बर्बाद, उता पनि बर्बाद’ भएको बताए।
सांसद बरालीले राज्य सञ्चालनको नेतृत्वमा रहेकाहरू देशको वर्तमान अवस्थाप्रति गम्भीर बन्नुपर्नेमा जोड दिए। तर, उनीहरूबाट सकारात्मक व्यवहार पाउन नसकेको उनको गुनासो थियो।
बैठकमा बोल्ने क्रममा उनले सत्ता साझेदार दल नेकपा एमालेभित्रको आन्तरिक कलहप्रति पनि तीखो व्यङ्ग्य गरे। "हुँदा–हुँदा माझ किरातकी छोरी र झापाली साक्षात् शिव चाम्लिङका छोराको मल्ल युद्धले पनि अर्को रमिता देखाएको पत्रपत्रिकाले उजागर गरेकै छन्," बरालीले भने।
उनको यो व्यङ्ग्य सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेभित्र चलिरहेको आन्तरिक शक्ति संघर्षप्रति लक्षित थियो। उनले देशको अवस्था नाजुक हुँदा समेत सत्ताका खेलाडीहरू आन्तरिक द्वन्द्वमा रमाइरहेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।