काठमाडौँ ।
मकवानपुरको विकट कैलाश गाउँपालिकामा सञ्चालित एक बालगृहमा आश्रित १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बालगृहका प्रमुख अधिकृत पक्राउ परेका छन्।
सांग्रिला डेभलपमेन्ट एसोसिएसनद्वारा कैलाश–३ मा सञ्चालित बालगृहका प्रमुख ४८ वर्षीय मधुसुदन राउतलाई प्रहरीले पक्राउ गरेको हो। मकवानपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) श्यामु अर्यालका अनुसार, पीडित बालिकाले दिएको जाहेरीको आधारमा राउतलाई गत शुक्रबार काठमाडौंबाट पक्राउ गरी मकवानपुर ल्याइएको हो।
पक्राउ परेका राउतलाई आज (आइतबार) म्याद थपका लागि मकवानपुर जिल्ला अदालतमा पेस गरिएको छ।
डीएसपी अर्यालका अनुसार, पीडित बालिकाले गत असार ८ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दर्ता गरेकी थिइन्। जाहेरीमा राउतले आफूलाई जेठ १ गतेदेखि २८ गतेसम्म पटक–पटक बलात्कार गरेको उल्लेख छ।
बाबुको दुर्घटनामा मृत्यु भएको र आमा सम्पर्कविहीन भएपछि पीडित बालिका विगत ४ वर्षदेखि सोही बालगृहमा आश्रय लिएर बस्दै आएकी थिइन्।