काठमाडौँ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको आगामी २०२५–२०२७ कार्यकालका लागि अध्यक्ष पदमा राजेन्द्र पुडासैनीले उम्मेदवारी घोषणा गरेका छन्। लन्डनमा एक घोषणा गर्दै उनले एनआरएनए स्थापनामा प्रमुख भूमिका खेलेको देश बेलायतमा रहेका साथीभाई र अग्रजहरूको सल्लाहअनुसार उम्मेदवारी दिने निर्णय गरेको बताए।
आफ्ना प्रमुख चुनावी मुद्दाहरू सार्वजनिक गर्दै पुडासैनीले एकताबद्ध एनआरएनए, नेपाली नागरिकताको निरन्तरता, नेपालमा रहेको सम्पत्तिको सुरक्षा, र भूतपूर्व ब्रिटिश गोर्खाहरूको समानताको लडाईंमा ऐक्यबद्धता जनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। यसैगरी, एनआरएनएमा नयाँ पुस्ताको सहभागिता बढाउने, नेपाली कला, साहित्य र संस्कृतिको संवर्धन एवं प्रवर्धन गर्ने, तथा बेलायतमा रहेका नेपाली विद्यार्थी र कामदारहरूको हकअधिकार र सुरक्षा सुनिश्चित गर्ने विषयलाई पनि उनले प्राथमिकतामा राखेका छन्।
उनले एनआरएनए अभियानमा सबै एकताबद्ध भएर लागेमा सबै मुद्दाहरू समाधान गर्न सकिनेमा विश्वास व्यक्त गरे। "एनआरएनए यूकेलाई एक नमुना संस्था बनाउन मसँग विशेष ‘रोडम्याप’ छ," उनले जिकिर गरे, "अन्याय र अत्याचारविरुद्ध लड्ने तथा अप्ठ्यारोमा परेकाहरूलाई सहयोग गर्नु मेरो स्वभाव हो, त्यसैले समाजकै लागि काम गर्ने अठोट लिएको छु।"
पुडासैनीले यदि आफू निर्वाचित भएमा एनआरएनएको केन्द्रीय समिति तथा अन्य देशका राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूलाई समेत एकताबद्ध बनाउन सक्दो पहल गर्ने बताए।