काठमाडौँ ।
मेयर बालेन्द्र शाह (बालेन)र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँबीच करिब ६ महिनादेखि चलेको टकराव अन्त्य हुने सङ्केत देखिएको छ। लामो समयको गतिरोधपछि काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक आज (सोमबार) बस्दैछ।
मेयर शाहले प्रमुख प्रशासकीय अधिकृत गुरागाईँलाई 'भ्रष्टाचारी' को आरोप लगाउँदै उनको सरुवा गर्न संघीय सरकारसँग माग गरेका थिए। तर, ६ महिनासम्म पनि उनको प्रयास सफल हुन नसकेपछि शाह पछि हट्दै गुरागाईँसँगै बैठक गर्न तयार भएका हुन्। बैठकको मुख्य एजेन्डा आगामी आर्थिक वर्षको बजेट ल्याउन नगरसभा बोलाउने रहेको छ।
मेयर बालेनले काठमाडौं टावरको नक्सापासमा अनियमितता गरेको आरोप लगाउँदै गुरागाईँलाई कार्यालयमा हाजिर गर्नसमेत रोक लगाएका थिए। उनले गुरागाईँको ठाउँमा नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाउन सिंहदरवारलाई बारम्बार गुहारे पनि संघीय सरकारले उनको माग सुनुवाइ गरेन।
गत चैत २१ गते उपमेयर, कांग्रेस र एमालेबाट निर्वाचित वडाध्यक्षहरूको सहयोगमा गुरागाईँ महानगरमा हाजिर भएपछि मेयर शाह थप रुष्ट बनेका थिए। यही टकरावका कारण गत पुसदेखि कार्यपालिका बैठक बस्न सकेको थिएन, जसले गर्दा महानगरका महत्त्वपूर्ण निर्णयहरू प्रभावित भएका थिए।
आज दिउँसो २ बजे कार्यपालिका बैठक बस्नुअघि बिहान ११ बजे मेयर शाहसहित महानगरको बजेट स्रोत अनुमान समितिको बैठक पनि बोलाइएको छ। यो बैठकले बजेटको आकार र स्रोतबारे छलफल गर्नेछ। ६ महिनापछि बस्न लागेको यो बैठकले महानगरको रोकिएको बजेट प्रक्रियालाई अघि बढाउनेछ र यसलाई मेयर शाह र अन्य जनप्रतिनिधिबीचको सम्बन्धमा आएको नयाँ मोडका रूपमा हेरिएको छ।