काठमाडौँ ।
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि विनियोजन गरेको पुँजीगत बजेटको सबैभन्दा ठूलो हिस्सा काठमाडौं जिल्लाले पाएको छ। कुल पुँजीगत बजेटको करिब १२ प्रतिशत काठमाडौंमा केन्द्रित हुँदा प्रदेशका मुख्यमन्त्री र आर्थिक मामिला मन्त्रीको गृहजिल्लाले पनि उल्लेख्य बजेट पाएका छन्।
बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ का लागि असार १ गते कुल ६७ अर्ब ४७ करोड ७३ लाख १७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको थियो। यसमध्ये पूर्वाधार निर्माणलाई प्राथमिकता दिँदै पुँजीगत तर्फ ४१ अर्ब ४३ करोड रुपैयाँ (कुल बजेटको ६१ प्रतिशत) विनियोजन गरिएको छ।
आर्थिक मामिला तथा योजना मन्त्रालयको विवरणअनुसार, काठमाडौं जिल्लाले भौतिक पूर्वाधार, पर्यटन, खानेपानी जस्ता क्षेत्रमा सबैभन्दा बढी, अर्थात् पुँजीगत बजेटको ११.९ प्रतिशत (३ अर्ब ९४ करोड ७९ लाख १० हजार रुपैयाँ) पाएको छ। दोस्रोमा प्रदेशको राजधानी रहेको मकवानपुरले १०.६ प्रतिशत (३ अर्ब ४९ करोड ८३ लाख रुपैयाँ) बजेट पाएको छ।
त्यसैगरी, मुख्यमन्त्री बहादुर सिंह लामाको गृहजिल्ला नुवाकोटले १० प्रतिशत अर्थात् ३ अर्ब ३१ करोड ६४ लाख रुपैयाँ बजेट प्राप्त गरेको छ। काभ्रेले पनि लगभग समान १० प्रतिशत (३ अर्ब ३० करोड २५ लाख रुपैयाँ) बजेट पाएको छ।
आर्थिक मामिला मन्त्री कुन्दनराज काफ्लेको गृहजिल्ला दोलखाले ८.३ प्रतिशत (२ अर्ब ७४ करोड ९९ लाख रुपैयाँ) बजेट पाउँदा सिन्धुपाल्चोकले ८.४ प्रतिशत (२ अर्ब ७९ करोड ९५ लाख रुपैयाँ) बजेट पाएको छ।
कुन जिल्लालाई कति बजेट ?
- चितवन: ७.५ प्रतिशत (२ अर्ब ४८ करोड ५८ लाख रुपैयाँ)
-सिन्धुली: ६.८ प्रतिशत (२ अर्ब २५ करोड ९६ लाख रुपैयाँ)
-ललितपुर: ६.७ प्रतिशत (२ अर्ब २२ करोड ५४ लाख रुपैयाँ)
-रामेछाप: ६.१ प्रतिशत (२ अर्ब ३ करोड ११ लाख रुपैयाँ)
-धादिङ: ६.१ प्रतिशत (२ अर्ब १ करोड ४० लाख रुपैयाँ)
-भक्तपुर: ४.८ प्रतिशत (१ अर्ब ५९ करोड ९३ लाख रुपैयाँ)
-रसुवा: २.८ प्रतिशत (९२ करोड ५२ लाख रुपैयाँ)
बजेट वितरणले प्रदेशको सबैभन्दा कम बजेट रसुवा जिल्लाले पाएको देखाएको छ, जसको हिस्सा कुल पुँजीगत बजेटको ३ प्रतिशतभन्दा पनि कम छ।
