काठमाडौँ ।
काठमाडौंको विष्णुमति खोलामा आएको बाढीले एउटा कार बगाउँदा त्यसमा सवार एक महिलाको प्रहरीले सकुशल उद्धार गरेको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार बुधबार राति करिब १०:१० बजे टोखा नगरपालिका–६, ग्राण्डी अस्पताल पछाडिको सडकबाट बा.प्र.०१–०३१ च ६१४१ नम्बरको कार खोलामा खसेको थियो। खोला किनारको सडकमा गुडिरहेको कार खस्न लाग्दा चालक कञ्चनपुर जिल्लाका ३५ वर्षीय अंकुश सिंह हामफालेर जोगिएका थिए।
तर, कारभित्र रहेकी दाङकी ३४ वर्षीया भावना ओलीलाई बाढीले कारसहित बगाएको थियो।
घटनाको सूचना पाएलगत्तै खटिएको ४५ जनाको प्रहरी टोलीले खोजी गर्ने क्रममा कारलाई बनियाटार पुलमा अड्किएको अवस्थामा फेला पारेको थियो। प्रहरीले तत्कालै ओलीको उद्धार गरी उपचारका लागि ग्रिन सिटी अस्पताल पठाएको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
बाढीले बगाएको कारलाई पनि राति नै क्रेनको सहायताले बाहिर निकालिएको छ।