भारतले आफ्नो ‘छिमेकी प्रथम नीति’ अन्तर्गत इरानमा अलपत्र परेका नेपाली नागरिकहरूलाई उद्धार गरी स्वदेश फर्काउने भएको छ। इरान र इजरायलबीच बढ्दो तनावका बीच भारतले आफ्ना नागरिकसँगै नेपाली र श्रीलंकाली नागरिकलाई पनि उद्धार गर्न लागेको हो।
भारतीय सञ्चारमाध्यम इन्डियन एक्सप्रेसले नयाँ दिल्लीस्थित अधिकारीहरूलाई उद्धृत गर्दै यो जानकारी दिएको हो। अधिकारीहरूका अनुसार, द्वन्द्व, प्राकृतिक प्रकोप वा महामारीजस्ता संकटको समयमा भारतले आफ्ना छिमेकीहरूलाई सधैं प्राथमिकता दिँदै आएको र सोही नीतिअनुसार यो कदम चालिएको हो।
तेहरानस्थित भारतीय दूतावासले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत एक सूचना जारी गर्दै नेपाल र श्रीलंका सरकारको अनुरोधमा ती देशका नागरिकहरूलाई पनि उद्धार अभियानमा समेटिएको जनाएको छ। दूतावासले उद्धारका लागि सम्पर्क गर्न चाहने नेपाली नागरिकहरूलाई दूतावासको टेलिग्राम च्यानल वा आपतकालीन नम्बरहरूमा तुरुन्त सम्पर्क गर्न आग्रह गरेको छ।
भारतको यो सहयोगप्रति परराष्ट्रमन्त्री आरजु राणा देउवाले आभार व्यक्त गरेकी छन्। इन्डियन एक्सप्रेसका अनुसार, हालसम्म करिब १६ जना नेपाली नागरिक भारतीय दूतावासको सम्पर्कमा आएका छन्।
भारतले आफ्ना नागरिकहरूलाई इरानी विमान सेवामार्फत दिल्ली ल्याइरहेको छ र शनिबार दुईवटा विमानमार्फत आफ्ना नागरिकलाई स्वदेश फर्काइसकेको छ। हालसम्म भारतले इरानबाट ८२७ जना भारतीय नागरिकको उद्धार गरिसकेको छ।