काठमाडौँ ।
वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाई इटाली र अजरबैजान पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका-७ बस्ने दाङ घोराहीका १९ वर्षीय दर्शन खड्का र तारकेश्वर नगरपालिका-३ बस्ने गोरखा धार्चेका ३७ वर्षीय सरेश गुरूङ रहेका छन्।
प्रहरीका अनुसार, खड्काले तीन जना पीडितलाई इटाली पठाइदिन्छु भनी छ लाख रुपैयाँ लिएका थिए भने गुरूङले दुई जनालाई अजरबैजान पठाउने आश्वासन दिएर चार लाख रुपैयाँ ठगी गरेका थिए। रकम लिएपछि उनीहरू सम्पर्कविहीन भएको भन्दै पीडितहरूले प्रहरीमा उजुरी दिएका थिए।
उजुरीको आधारमा अनुसन्धान अघि बढाएको प्रहरी टोलीले खड्कालाई बुधबार काठमाडौं-७ बाट र गुरूङलाई मंगलबार काठमाडौं-२६ बाट पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।