काठमाडौँ, असार ५ ।
तारकेश्वर नगरपालिकाले आफ्नो भगिनी सम्बन्ध रहेको सल्यानको शारदा नगरपालिकासँगको सहकार्यलाई थप प्रगाढ बनाउँदै एक थान एम्बुलेन्स सहयोग गरेको छ। तारकेश्वर नगरपालिकाले खरिद गरेको उक्त एम्बुलेन्स आज (बिहिबार) एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो।
तारकेश्वर नगरपालिकाका नगरप्रमुखले शारदा नगरपालिकाका प्रतिनिधिलाई नगरपालिकाको आफ्नै प्राङ्गणमा आयोजित एक कार्यक्रममा एम्बुलेन्सको साँचो हस्तान्तरण गरे।
यी दुई नगरपालिकाहरूबीच वि.सं. २०८० मा भगिनी सम्बन्ध स्थापना भएको थियो। सोही सम्बन्धलाई सार्थक बनाउन र एकअर्कालाई सहयोग गर्ने उद्देश्यले तारकेश्वरले शारदा नगरपालिकाको स्वास्थ्य सेवामा सघाउ पुर्याउन एम्बुलेन्स सहयोग गरेको हो।
सल्यान जिल्लामा अवस्थित शारदा नगरपालिकामा नेपाली काँग्रेसका जिल्ला सचिव समेत रहेका प्रकाश भण्डारी नगरप्रमुखका रूपमा निर्वाचित रहेका छन् । यस सहयोगले दुई नगरपालिकाबीचको सम्बन्धलाई अझ बलियो बनाउनुका साथै शारदाका स्थानीय बासिन्दाको स्वास्थ्य सेवामा पहुँच सहज बनाउन मद्दत पुग्ने विश्वास लिइएको छ।