काठमाडौँ, असार ०२ ।
सङ्घीय संसद्, प्रतिनिधि सभाको बैठक आज (सोमबार) बस्दैछ। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बिहान ११ बजे सुरु हुने बैठकमा बजेटसँग सम्बन्धित महत्त्वपूर्ण विधेयकहरू प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
सङ्घीय संसद् सचिवालयका अनुसार, आजको बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयक, २०८२’’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’’ प्रस्तुत गर्ने कार्यसूची छ । यी विधेयकहरू सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट कार्यान्वयनका लागि अत्यावश्यक मानिन्छन्।
यसका साथै, अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८१र८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सांसदहरूले उठाएका जिज्ञासाहरूको जवाफ दिने कार्यक्रम पनि रहेको छ। बजेटमाथिको सैद्धान्तिक छलफल सकिएपछि मन्त्रीले जवाफ जवाफ दिनेछन् ।
त्यसैगरी, बैठकमा ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक पनि टेबुल गरिने सम्भावित कार्यसूची छ।